देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साताबाट

२०७८ माघ २९ शनिबार ०९:२९:०० मा प्रकाशित

इलाम । इलामको देउमाई नगरपालिकाको मङ्गलबारेमा आगामी फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

खेलकुदका माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्न तथा ग्रामिण क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिने छ । युनाइटेड देउमाई युथ क्लब र देउमाई नगरपालिकाले प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय १६ युवाको सक्रियतामा दुई महिना अघि मात्र क्लब स्थापना भएको हो ।

भानुभक्त माविको छात्राबास खेल मैदानमा प्रतियोगिताका खेल सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिए । प्रतियोगितामा जिल्ला बाहिरका तीनसहित आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ एफसी बिब्ल्याँटे, पशुपति गण इलाम, भेनस एफसी फिक्कल र देउमाई युथ क्लब तथा सशस्त्र प्रहरी बल सुनसरी, डाँगिहाट एफसी बेलबारी र फिदिम स्पोर्टीङ्ग क्लब पाँचथरको सहभागिता रहने अध्यक्ष लिम्बूले जानकारी दिए ।

नेपाल आइसको मुख्य प्रायोजन रहेको गोल्डकपको प्रथम पुरस्कार उसले नै प्रदान गर्नेछ । करिब २० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि हालसम्म पाँच लाख ५० हजार संकलन भएको बताइएको छ ।

देउमाई नगरपालिकाले तीन लाख सहयोग गरेको छ । देउमाई नगरपालिका वडा नम्बर ५ ले ५० हजार तथा वडा नम्बर ४ ले ३० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।

 

ताजा खबर