‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स विजयी

२०७८ माघ २८ शुक्रबार १६:४७:०० मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा फ्रेन्डस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

योसँगै फ्रेन्डसले प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । फ्रेन्डसका लागि आजको खेलमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई तथा श्यामबाबु केप्छ्याकीले एक गोल गरे । ब्रिगेड ब्वाइजका लागि ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा सुशीलले फ्री–किकमार्फत गोल गर्दै फ्रेन्डसलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २५औँ मिनेटमा ब्रिगेड ब्वाइजका ड्याडीले फ्री–किकमार्फत गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । त्यस्तै खेलको २७औँ मिनेटमा श्यामबाबुले गोल गर्दै फ्रेन्डसलाई २–१ को अग्रता दिलाए । खेलको पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्डसलाई ३–१ को अग्रता दिलाए । निशेन सुब्बाको फ्री–किकमा उनले गोल गरे । खेलको ७६औँ मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्डसलाई ४–१ को अग्रता दिलाए ।

खेलको ७८औँ मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्डसलाई ५–१ को अवस्थामा पुर्याए । प्रिजेनको पासमा उनले गोल गरेका थिए । खेलको ८६औँ मिनेटमा विग्रेड ब्वाइजका अनिलले पेनाल्टीमार्फत एक गोल थपे पनि फ्रेन्ड्स ५–२ ले विजयी भयो । पहिलो जीतसँगै अङ्क तालिकाको अन्तिम स्थानमा रहेको फ्रेन्डस तत्कालका लागि रेलिगेसन जोनबाट जोगिएको छ ।

दश खेलबाट ६ अङ्क जोडेर फ्रेन्ड्स १२औँं स्थानमा उक्लिएको छ । हारसँगै समान ६ अङ्क नै रहे पनि बिबिसी अङ्क तालिकाको १३औँ स्थानमा छ । त्यस्तै ५ अङ्क बटुलेको च्यासल युथ क्लब तालिकाको अन्तिममा छ ।

ताजा खबर