पार्टीभित्र अपमानित भएर नबसी अलग्गै पार्टी खोल्ने निर्णय गरेको हुँः थापा

२०७८ माघ २८ शुक्रबार १५:३४:०० मा प्रकाशित

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटमा थापाले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको बताए ।

उनले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि नेतृत्वलाई सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्न लागेको बताए । साथीहरुसँग परामर्श गरेर फागुनको पहिलो हप्तामा नै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उद्घोष गर्दै थापाले नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्ने बताए ।

उनले आफूले बोकेको विचारलाई अलपत्र पारेर नछाड्ने भन्दै पार्टीभित्र लाचार र अपमानित भएर बस्नुभन्दा अलग्गै पार्टी खोल्नेमा जोड दिए । स्नेह, सद्भाव देखाउने तर माग सम्बोधन गर्न नसक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेको भन्दै थापाले राजालाई साझा अभिभावक र संवैधानिक राजाका रुपमा हेर्न चाहेको बताए ।

उनले एमसीसी आफैँमा आपत्तिजनक नरहेको र यसका विषयमा आएका प्रश्न र आशङ्का विषयमा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै आर्थिक सहयोग लिन सकिने एमसीसीबाट कुनै नोक्सानी नहुने बताए । उनले यस विषयमा बढीभन्दा बढी राजनीतिक दललाई सहमति गराएर पास गर्नुपर्ने विचार व्यक्त गरे ।

ताजा खबर