निजी डेरीद्वारा दूधको प्रतिलिटर दश रुपैयाँ मूल्य बृद्धि

२०७८ माघ २८ शुक्रबार १५:२४:०० मा प्रकाशित

काठमाडौैं । नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएको भन्दै अब नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए ।

उनले अबका दिनमा आफूहरु दुग्ध विकास संस्थानसँग सँगै जान नसक्ने र किसानरुलाई संस्थानको भन्दा २ रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताए । नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ बनाउने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए ।

त्यस्तै व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढेपनि पछिल्लो निर्णयलाई स्वीकार्न नसकिने बताए । दुग्ध विकास संस्थानले कच्चा दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि गरेको थियो । तर नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले भने आगामी फागुन १ गतेदेखि लागू हुनेगरी कच्चा दुधको न्यूनतम मूल्य ५३ रुपैयाँ ४५ पैसाबाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेको छ भने दुरीको अन्तरको आधारमा अन्तिम क्षेत्र र जिल्लाको मूल्य निर्धारण गर्ने बताएको छ ।

ताजा खबर