अमेरिकी नागरिकलाई युक्रेन छाड्न बाइडनको आग्रह

२०७८ माघ २८ शुक्रबार १०:२५:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेका छन् । उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको जनाएका छन् । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन् ।

उनले अवस्था छिट्टै भयानक हुनसक्ने बताए । अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह गरेको छ । उनले भने, ‘हामी विश्वकै सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौँ। यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरू छिट्टै भयानक हुन सक्छन्।’

युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध पुर्याएको आरोप लगाएको छ । उक्त क्षेत्रमा बढ्दो तनावमाझ अर्को साता रुसी नौसेनाले एउटा सैन्य अभ्यास गर्न लागेका बेला युक्रेनका विदेशमन्त्रीले त्यस्तो आरोप लगाएका हुन् ।

विदेशमन्त्री दिमेत्रो कुलेबाले सी अफ एजोफ पूरै अवरूद्ध पारिएको र ब्ल्याक सीको बाटो समेत लगभग पूरै जस्तो विच्छेद गरिएको बताएका छन् । रुसले युक्रेनको दक्षिणतर्फका ती सागरमा अर्को साता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै तटीय क्षेत्रका लागि पूर्वचेतावनी जारी गरेको छ ।

त्यस क्षेत्रमा तनाव चुलिएका बेला रुसी सैन्य अभ्यासले समुद्रमा आउजाउ ’व्यवहारिक रूपमा असम्भव’ भएको युक्रेनले जनाएको छ । युक्रेनतर्फका सीमामा एक लाखभन्दा धेरै रुसी सैनिक तैनाथ गरिए पनि युक्रेनमा हमलाको योजना बनाएको भन्ने पश्चिमा आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ।

 

ताजा खबर