युक्रेनको सीमाबाट रूसलाई फौज हटाउन बेलायतको आग्रह

२०७८ माघ २७ बिहीबार १९:५०:०० मा प्रकाशित

मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बताएको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रुसले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘हामीले युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू अन्यत्र सरेको देख्नु आवश्यक छ किनभने अहिले यो एकदमै खतरनाक सुरक्षा चासोको अवस्था बनेको छ ।’

ट्रुसले युरोपेली सुरक्षा र यूक्रेनको तनावबारे मस्को र पश्चिमका अधिकारीहरूबीच हप्तौंको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेकी छन् ।

मस्कोमा भएको वार्तापछि ट्रुसले भनिन्, “लाभरोभसँगको मेरो छलफलले सकारात्मक सन्देश दिएको छ । उहाँले रूसको युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताउनुभयो तर हामीले ती शब्दहरू पछ्याउनु आवश्यक छ ।”

रूसले आफ्नो पूर्व सोभियतकालिन भूभागमा रहेको छिमेकी यूक्रेन वरिपरि करिब एक लाख सेना तैनाथ गरेपछि युक्रेनमा पृथकतावादी द्वन्द्व चर्काउने तयारी भइरहेको पश्चिमी राजधानीका नेताहरुले चेतावनी दिँदै आएका छन् । यूक्रेनको सिमानामा रहेको बेलारूसमा रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीचको भेट भएको हो ।

 

ताजा खबर