मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

२०७८ माघ २७ बिहीबार १३:३१:०० मा प्रकाशित

बैतडी । पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता अगामी फागुन २२ गतेदेखि सञ्चालन हुने छ ।

प्रतियोगितामा नगरपालिकाभित्रका ११ वडाको सहभागिता रहने समितिका संयोजक रमेश भट्टले जानकारी दिए । आइसिसीको नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागिता हुन चाहने टोलीले फागुन १८ सम्म दर्ता गराइसक्नुपर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

यसैबीच उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने अगामी चैत २ गतेदेखि सञ्चालन हुने समितिले जनाएको छ । यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो । यस्तै चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।्

ताजा खबर