दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

२०७८ माघ २७ बिहीबार १३:२२:०० मा प्रकाशित

काठमाडौं । दूग्ध विकास संस्थानले प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । संस्थानका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सन्जीब झाले नयाँ मूल्य शुक्रबारदेखि लागू हुने जानकारी दिए ।

मूल्यबृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो । त्यसपछि डीडीसीले पनि मूल्य बढाउने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो । अहिले डीडीसीले आधा लिटर दूधको मूल्य ३८ रुपैयाँ तोकेको छ । अब भने आधा लिटरलाई साढे ४२ रुपैयाँ पर्नेछ । यो मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा लागू हुने छ ।

 

ताजा खबर