६ महिनामा चार खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

२०७८ माघ २६ बुधबार २०:३०:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई तीन अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ६७ हजार ५१३ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८९ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई एक लाख ३० हजार २१२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७५.५ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई रु पाँच खर्ब २३ अर्ब एक करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

ताजा खबर