हेटौँडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

२०७८ माघ २६ बुधबार १०:४२:०० मा प्रकाशित

काठमाडौं । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।

महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालयको प्रशासन तथा संस्था शाखामा दरखास्त दिन सकिनेछ । दरखास्तका साथमा निवेदकले उद्योग सञ्चालनका लागि व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको व्यक्तिले महाप्रबन्धकका लागि दरखास्त दिन सक्नेछन् । प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जीनियरिङ वा कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तिले दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ ।

दरखास्त स्वीकृत भई छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामार्फत उत्कृष्टलाई नियुक्तिका लागि सिफारिस गरिनेछ । सरकारी स्वामित्वको उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल गत पुसमा सकिएको थियो । सिहंले २०७१ सालदेखि महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

ताजा खबर