युक्रेनको सीमामा तनाव नबढाउने पुटिनको आश्वासन

२०७८ माघ २६ बुधबार ०८:१०:०० मा प्रकाशित

फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले राष्ट्रपति पुटिनले रुसी फौजले युक्रेनतर्फको सीमामा सङ्कट नबढाउनेमा आफूलाई आश्वास्त पारेको बताएका छन् । रुसले भने सुनिश्चितता खोज्ने कुनै पनि सुझाव ठिक नभएको जनाएको छ ।

यो साता राष्ट्रपति माँक्रो कूटनीतिक भ्रमणका क्रममा सोमबार मस्कोमा भ्लादिमिर पुटिनसँग झण्डै ६ घण्टा बिताएर मङ्गलवार युक्रेनको राजधानी किएभ पुगेका थिए ।

युक्रेनी नेतालाई भेट्नुअघि पत्रकारहरूसँग माँक्रोले भने, ‘मैले त्यहाँको अवस्था थप नबिग्रने वा नगहिरिने सुनिश्चितता सुरक्षित गरेको छु।’ त्यसपछि माँक्रो बर्लिन पुगेर जर्मन चान्सलर र पोल्याण्डका राष्ट्रपतिसँग छलफल गर्दै युक्रेनको सार्वभौमसत्ताका पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् । यसैबीच युरोपेली सङ्घका विदेशनीति प्रमुख जोसेफ बोरेलले माँक्रोको रुस भ्रमणले मुठभेड रोक्न सक्ने केही सम्झौताको विन्दू देखाएको बताएका छन् ।

फ्रान्सका एकजना अधिकारीले दुई नेता बेलारुसबाट रुसी सेना फिर्ता गर्ने विषयमा सहमत भएको जनाएका थिए । बेलारुसमा युक्रेनतर्फको उत्तरी सीमामा रुसी सेनाहरू अभ्यास गरिरहेका छन् । क्रेमलिनका प्रवक्ताले चाहिँ माँक्रोसँग कुनै सम्झौता नभएको तर एउटा विन्दूमा त्यहाँबाट फौजहरू रुस फर्कने अपेक्षा गरिएको बताए । किएभमा माँक्रोसँगको पत्रकार सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले अब त्यहाँ ’वार्ताहरू अगाडि बढाउने अवसर देखिएको’ बताएका थिए।

ताजा खबर