लिलाम हुँदै अर्बौँ वर्ष पुरानो रहस्यमय कालो हीरा

२०७८ माघ २१ शुक्रबार १७:०१:०० मा प्रकाशित

पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको कालो हीरा लिलाममा विक्री हुन लागेको छ । यो हीरा अर्बौँ वर्षअघि बनेको बताइन्छ । ’द एनिग्मा’ नामक उक्त रत्नको उत्पत्तिबारे विभिन्न मान्यताहरू छन्। तीमध्ये एउटाका अनुसार यो अन्तरिक्षबाट पृथ्वीमा आइपुगेको हो । यो हीरा ५५५.५५ क्यारेटको छ जुन एकदमै अस्वाभाविक हो ।

यसको तौल एउटा केराको जति छ । सजावट कला, गहना र विभिन्न वस्तुको ठूलो विक्रेता सथबीले लन्डनमा लिलामीमा राखेको यो हीराले ६० लाख डलरभन्दा बढीमा मूल्य पाउने अपेक्षा गरेको छ । अनलाइन माध्यमबाट इच्छुक क्रेताहरू आगामी सातासम्म लिलाम बढाबढमा सहभागी हुन सक्छन् । यो हीरा कार्बनेडो अर्थात् प्राकृतिक हीराको सबैभन्दा कडा स्वरूपहरूमध्ये एक हो ।

कालो हीरा सामान्यतया झन्डै २.६ देखि ३.२ अर्ब वर्ष वा डाइनसोर अस्तित्वमा हुँदाको समयभन्दा पुरानो हुन्छ । पृथ्वी झन्डै ४.६५ अर्ब वर्षअघि उत्पन्न भएको हो। त्यसैले पृथ्वी र यो हीराको आयुको तुलना गर्ने गरिएको छ । कार्बनेडोहरू अत्यन्त दुर्लभ हुन्छन्। यी ब्रजिल र मध्य अफ्रिकी गणतन्त्रमा मात्र फेला परेका छन् ।

ताजा खबर