मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा गएर खोप लगाइने

२०७८ माघ २१ शुक्रबार १४:४३:०० मा प्रकाशित

जनकपुर । मधेस प्रदेसका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको शुक्रबार उद्घाटन गरिएको हो ।

आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त र शारीरिक रुपमा फरक क्षमता भएका करिब ३२ हजार जनालाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने कार्यक्रमको मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर यादवले उद्घाटन गरे ।

नेपाल सरकारले आगामी चैतसम्ममा शत्प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएअनुसार स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, शारीरिक रुपमा अशक्त र फरक क्षमता भएका नागरिकलाई घरघरमै पुगेर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयहरु, स्थानीय तहहरु र प्रदेश सरकारसँग समन्वय गर्दै आगामी चार महिनाभित्रमा चार जिल्लाका आठ हजारका दरले ३२ हजार जनालाई खोप लगाइसक्ने संस्थाले लक्ष्य लिएको छ ।

यस खोप अभियानका क्रममा कोरोनाबारे जनचेतनामूलक सन्देश प्रवाह गर्नाका साथै कोरोनाविरुद्धको खोप लगाउन छुटेका अन्य नागरिकहरुलाई खोप लगाउन प्रेरित गर्ने आड्रा नेपालका निर्देशक डा घनश्याम भट्टले बताए ।

यस संस्थाको समन्वयमा चार जिल्लालाई चारवटा मोबाइल गाडीको व्यवस्था गरी घुम्ती खोप सेवा सञ्चालन गरिएको छ । हरेक एक जिल्लामा एक गाडीको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

ताजा खबर