अमेरिकी सेनाको कारबाहीमा आइएसका वरिष्ठ नेता कुरेशीको मृत्यु

२०७८ माघ २१ शुक्रबार १०:०४:०० मा प्रकाशित

उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन् ।

गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार मध्यरातको उक्त छापामार शैलीको कारबाहीबारे जानकारी दिएका छन् ।

इब्राहिमको अन्त्यले विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको बाइडनले बताएका छन् । आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन । टर्कीसँग सीमा जोडिएको इड्लिब प्रान्तको अत्मा सहरको बाहिरी इलाकास्थित एउटा तीन तले घरलाई लक्षित गरेर अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ ।

त्यहाँ आईएसविरोधी समूहहरू पनि लडिरहेका छन् भने टर्कीको समर्थन पाएका विद्रोहीहरू सिरियाली सरकारसँग लडिरहेका छन् । सिरियास्थित घटनास्थलमा पुग्ने सहायताकर्मीहरूले उक्त कारबाही गरिएको टोलमा ६ जना बालबालिकासहित १३ जनाको हत्या भएको बताएका छन् । उक्त क्षेत्रमा कैयौँ अमेरिकी हेलिकप्टरहरू उत्रेका थिए र आधा रातमा उक्त कारबाही भएको थियो ।

 

ताजा खबर