पश्चिम बंगालमा कोभिडका कारण बन्द विद्यालय पुनः खुल्ला

२०७८ माघ २० बिहीबार २३:४५:०० मा प्रकाशित

कोरोनाभाइरसको महामारीका कारण बन्द भएका भारतको पश्चिम बंगालका विद्यालयहरू फेरि खुल्ला भएका छन् । कक्षा ८ देखि १२ सम्मको पढाई बिहीबारदेखि सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् । मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गरिने घोषणा गत सोमबार गरेकी थिइन् ।

उनका अनुसार विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन् । कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले गत जनवरी ३ देखि विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन कार्य बन्द गरेको थियो ।

सरकारले त्यति बेलादेखि नै स्पा, शैलुन, व्युटी पार्लर, चिडियाखाना, मनोरञ्जनस्थललगायत बन्द गर्ने निर्णय गरेको थियो । दुई बर्ष अगाडि सुरु भएको महामारीका कारण विद्यालयमा पठनपाठनको वातावरण बन्न नसकेको शिक्षक तथा विद्यार्थीहरूले बताएका छन् ।

एक विद्यार्थीले भने, “महामारी आउनुपूर्व म कक्षा ८ मा पढ्दै गरेको थिएँ । अहिले कक्षा १० मा पढ्न थालेको छु । यो बीचमा पटक पटक लकडाउन लागु भयो । त्यस बेला मेरो राम्रा नराम्रा सवैको मिश्रित अनुभव भयो । मैले पढ्ने महत्वपूर्ण वातावरण लामो समय गुमाएको छु ।”

ताजा खबर