बैंकहरुले सात लाख भन्दा बढी नगद कारोबार गर्नेको विवरण अब राष्ट्र बैंकलाई बुझाउनुपर्ने

२०७८ माघ २० बिहीबार १४:४७:०० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो रकमको कारोबार गर्नेमाथि निगरानी राख्ने भएको छ । कारोबारको स्रोत पहिचानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो ।

यसका लागि वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले मंगलबार पत्रमार्फत जानकारी मागेको हो । नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोतबारे बैंकहरुलाई जानकारी दिन भनेको छ ।

खासगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि यो अध्ययन गर्नुपरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले यसअघि पनि स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको छ ।

बैंकहरुलाई पठाएको पत्रमा भनिएको छ, ‘बैंकबाट साउन १ देखि पुस ३० गतेसम्म भएको कारोबार उपलब्ध गराउनुहुन अनुरोध छ ।’ तथ्याङ्क उपलब्ध गराउँदा ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारको विवरण माग गरिएको छ ।

त्यसको लागि केन्द्रीय बैंकले ढाँचा नै पठाएको छ । ढाँचामा बैंकको खातावालाको नाम, खाता नम्बर, प्रयोग भएको डेबिट क्रेडिट कार्ड, कारोबार भएको रकम, कारोबार भएको मिति, कारोबार गर्ने गराउनेको विवरण र उल्लेख भएको कैफियत पठाउन भनिएको छ ।

 

ताजा खबर