के हो ओमिक्रोन बीए.टु ?

२०७८ माघ २० बिहीबार ११:३१:०० मा प्रकाशित

कोरोनाभाइरसको अति सङ्क्रामक ओमिक्रोन भेरियन्टले अहिले विश्वभरिका आधा कोभिड–१९ सङ्क्रमणका लागि जिम्मेवार छ । तर ओमिक्रोन कोरोनाभाइरससँग मिल्दोजुल्दो देखिएका कैयौँ भेरियन्टहरूलाई प्रयोग गरिने साझा शब्द हो जसको सबैभन्दा बढी देखिने प्रकार बीए.वान हो ।

तर अहिले एशिया र युरोपका धेरै देशहरूले बीए.टुका सङ्क्रमण बढिरहेको बताइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार उक्त सबभेरियन्ट फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा प्रभावशाली बनिसकेको छ । बीए.टुलाई कहिलेकाहीँ ’लुकेर बस्ने’ उपप्रजाति भनिने गरिएको छ ।

यो सबभेरियन्टमा अनुसन्धानकर्ताहरूले डेल्टा र ’नियमित’ बीए.वान ओमिक्रोनलाई छुट्टाउन प्रयोग गर्दै आएको जेनेटिक मार्कर अर्थात् आनुवंशिक चिन्ह हुँदैन । अरू भेरियन्ट जस्तै बीए.टुको सङ्क्रमण नाक वा घाँटीबाट निकालिएका र्यालजस्ता तरल पदार्थ र पीसीआर कोभिड परीक्षण किटहरूले पत्ता लगाउँछन् तर तिनले बीए.टु र डेल्टाबीचको फरक पत्ता लगाउन सक्दैनन् । सुनिश्चित हुनका लागि थप परीक्षणहरू गराउनुपर्ने हुन्छ । बीए.टु विगतका भेरियन्टभन्दा अझ सङ्क्रामक रहने ठानिएको छ तर अहिलेसम्मको तथ्याङ्कले तिनले गम्भीर समस्या निम्त्याउने सङ्केत दिएका छैनन् ।

ओमिक्रोन बीए.टु के हो ?
भाइरसहरू उत्परिवर्तन भइरहँदा उनीहरू बेलाबेलामा विभिन्न उपसमूहमा टुक्रिन्छन् । ओमिक्रोनको हकमा पनि त्यस्तै भएको छ र यसको उपसमूहमा बीए.वान, बीए.टु, बीए.थ्री र बी.वान.वान.फाइभटुनाइन देखा परेका छन् । बीए.वानका कारण अहिलेका अधिकांश सङ्क्रमण भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी जीआईएसएड तथ्याङ्क भण्डारमा जनवरी २५, २०२२ सम्म उपलब्ध गराइएका भाइरल डीएनएमध्ये करिब ९९ प्रतिशतमा यो सबभेरियन्ट देखिएको उल्लेख गरेको छ । सबैभन्दा पहिले कहाँ बीए.टु देखियो प्रस्ट छैन तर सबैभन्दा सुरुमा गएको नोभेम्बरमा अपलोड गरिएको सिक्वेन्सीङको फिलिपिन्सबाट प्राप्त तथ्याङ्क भण्डारमा यो पाइएको थियो ।

बीए.टु कहाँ फैलिरहेको छ ?
नोभेम्बरयता ४० वटा देशले आफ्नो तथ्याङ्कमा हजारौँ बीए.टु पुष्टि गरेका छन्। कतिपय ठाउँमा उक्त सबभेरिअन्टको वृद्धि उच्च छ । डेनमार्कको स्टाटेन सीरम इन्स्टिच्युटका अनुसार त्यहाँको आधा नयाँ कोभिड सङ्क्रमण बीए.टुका कारण भएको छ । मोलिक्युलर बायोलोजिस्ट विजय ढकालका अनुसार भारतमा द्रुत गतिमा बीए.टुले डेल्टा र ओमिक्रोन बीए.वान भेरियन्टलाई प्रतिस्थापन गरिरहेको छ । कैयौँ प्रदेशहरूमा त्यो मूल भेरियन्ट बनिसकेको छ र हालैको तेस्रो लहरलाई उक्त भेरियन्टले नै डोर्याएको ठानिन्छ।

फिलिपिन्सको डिपार्टमेन्ट अफ हेल्थले बीए.टुको प्रकार जनवरीको अन्त्यमा आफूले प्राप्त गरेका नमुनामा देखा परिसकेको जनाएको छ । ब्रिटेनमा एक हजारभन्दा बडी बीए.टु सङ्क्रमणका घटना पहिचान भएको यूके हेल्थ सेक्युरिटि एजेन्सीले जनाएको छ ।
के बीए.टु थप सङ्क्रामक छ ?
डेनमार्कको एसएसआईले ८ हजार ५०० घरधुरी र १८ हजार व्यक्तिहरूमा गरेको अध्ययनले बीए.वानभन्दा बीए.टु उल्लेख्य रूपमा बढी सङ्क्रामक रहेको पाएको थियो । उक्त भेरियन्ट खोप लगाएका र अघिल्ला भेरियन्टका कारण प्रतिरोधी क्षमता हासिल गरेका व्यक्तिहरूलाई सङ्क्रमण गराउन सफल देखिएको अध्ययनले जनाएको छ । तर खोप लगाएका व्यक्तिले त्यसलाई सार्ने सम्भावना कम रहेको भनिएको छ।
के बीए.टु अझ घातक छ ?
विगतको ओमिक्रोन भेरियन्टका अरू प्रजातिभन्दा बीए.टुले अझ गम्भीर बिरामी निम्त्याउँछ भनेर पुष्टि गर्ने कुनै तथ्याङ्क छैन । डब्ल्यूएचओको कोभिड रेस्पोन्स टिमका डा. बोरिस पाभ्लीनका अनुसार बीए.टुले बीए.वानलाई विस्थापित गरेको अवस्थामा पनि त्यसले महामारी अघि बढ्ने क्रम र उपचार गर्ने प्रक्रियामा खासै असर नगर्ने बताए।
बीबीसीबाट

ताजा खबर