सन्धिखर्कमा अत्याधुनिक चिस्यान केन्द्र निर्माण गरिँदै

२०७८ माघ १९ बुधबार ११:५८:०० मा प्रकाशित

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिक स्तरको चिस्यान केन्द्र निर्माण गरिने भएको छ । कृषकले उत्पादन गरेको फलफुल तथा तरकारी सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नं १ को हटारीमा चिस्यान केन्द्र निर्माण गर्न लागेको हो ।

चिस्यान केन्द्र सात करोड ७९ लाखको लागतमा निर्माण गर्न लागिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । चिस्यान केन्द्रको अभावमा तरकारी तथा फलफुल कृषकले सस्तो मूल्यमा बिक्री गर्न बाध्य थिए ।

उत्पादन भएको तरकारी तथा फलफुल कुहिएर जाने गरेको थियो । कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल चिस्यान केन्द्रमा राखेर जुनसुकै समयमा पनि बिक्री गरी मनग्य आम्दानी गर्न सकिने अर्यालले बताए ।

नगर प्रमुख कमलप्रसाद भुसालका अनुसार चिस्यान केन्द्रको क्षमता १५० मेट्रिक टन रहेको छ । आगामी वर्ष २०७९ चैत मसान्तसम्म काम सम्पन्न गर्ने गरी लुम्बिनी अर्घाखाँची जेभीसँग निर्माणको सम्झौता भएको हो । चिस्यान केन्द्र स्थापना भएर सञ्चालनमाा आएपछि कृषक मात्र होइन उपभोक्ता समेत लाभान्वित हुने बताइएको छ ।

ताजा खबर