चितवनमा धान उत्पादन घट्दै

२०७८ माघ १९ बुधबार १०:५४:०० मा प्रकाशित

चिनवन । चितवनमा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्याङ्कले देखाएको छ । कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो । यसबाट ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिइन् ।

गत आर्थिक वर्षमा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यस वर्ष एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिइन्। । आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा एक लाख १४ हजार ९०६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

कार्यालयका अनुसार चैतेधान उत्पादनमा स्थिरता रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा चार हजार ९१५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकामा २० हजार ७५० मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा सोही क्षेत्रफलमा त्यतिनै उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कानुसार वर्षे धानमा क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्वमा अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रतिहेक्टर उत्पादकत्व चार दशमलब २१ मेट्रिक टन रहेकामा अघिल्लो आर्थिक वर्षमा तीन दशमलब ७९ मा झरेको थियो । चालु आर्थिक वर्षमा उत्पादकत्वमा केही वृद्धि भएको छ ।

यस वर्ष उत्पादकत्व तीन दशमलव नौ पुगेको न्यौपानेले बताइन् । स्थानीय पालिकाहरुले दिएको तथ्याङ्कका आधारमा यसवर्ष वर्षे धानको क्षेत्रफल र उत्पादन घटेको उनको भनाइ छ । गत वर्ष धानमा रोग लागेका कारण उत्पादन घटेको हो । यस वर्ष धान पाक्ने समयमा वर्षा बढी हुँदा धानमा क्षति भएको न्यौपानेले बताइन् ।

प्रमुख अन्न बालीका रूपमा रहेको मकैको उत्पादन विगत दुई वर्षमा स्थिर छ । पछिल्ला दुई आर्थिक वर्षमा मकैको उत्पादन स्थिर रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको २६ हजार १९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको थियो ।

सो क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको न्यौपानेले जानकारी दिइन् ।  गत आर्थिक वर्षमा  २६ हजार १९ हेक्टर क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ ।

ताजा खबर