सिमसार अतिक्रमणले जैविक विविधतामा ह्रास

२०७८ माघ १९ बुधबार १०:५१:०० मा प्रकाशित

काठमाडौँ । हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा बढ्दो कोभिड–१९ को सङ्क्रमणका कारण तोकिएका जनस्वास्थका मापदण्ड पालना गरी मधेस प्रदेशको अगुवाइमा सिमसार संरक्षणसम्बन्धी राष्ट्रियस्तरको कार्यक्रम कोसीटप्पु वन्यजन्तु आरक्षमा गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभाग, मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको संयुक्त आयोजनामा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवको आतिथ्यतामा आरक्षको पश्चिमतर्फ सप्तरीमा कार्यक्रम गर्न लागिएको हो । संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयहरूमा स्वास्थ्यका मापदण्ड पालना गरी दिवसका विभिन्न कार्यक्रम गर्न लागिएको विभाग र वन तथा भू–संरक्षण विभागले जनाएका छन् ।

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । विभागका महानिर्देशक रामचन्द्र कँडेलले सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने बताए ।

सिमसारले वातावरण संरक्षण तथा पर्यापर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउँछ । सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए ।

यसबाहेक जलवायु परिर्वतनका असरले पोखरी सुक्दै गएका कारण पनि सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएका छन् । यही विषयलाई मध्यनजर गरी सरकारले स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम अघि सारेको छ । विश्वको करिब नौ प्रतिशत र नेपालको करीब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् ।

विश्व संरक्षण सङ्घ नेपालको १९९८ को अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । विभागको तथ्याङ्कानुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् ।

नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र सवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ ।

हालसम्म यसमा आवद्ध देशको सङ्ख्या १७० पुगेको छ । साथै दुई हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १७ डिसेम्बर १९८७ का दिन नेपालले कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो ।

रामसार सूचीमा नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बीसहजारी तथा आसपासका तालहरु, रारा ताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड तथा आसपासका तालहरु, गोक्यो तथा आसपासका तालहरु, माईपोखरी र पोखरा उपत्यकाका ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ ।

सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान प्राकृतिक प्रणालीको अंश मानिन्छ ।

यसले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्छ । सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्याउनेलगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको हुन्छ ।

ताजा खबर