स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होछार मनाउन प्रधानमन्त्रीको आग्रह

२०७८ माघ १९ बुधबार ०९:१९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै सोनाम ल्होछार पर्व मनाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

‘सोनाम ल्होछार’ अर्थात् तामाङ समुदायले मनाउने मौलिक नयाँ वर्षको अवसरमा तामाङ समुदायलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जोगिने उपाय अपनाउँदै पर्व मनाउन आह्वान गरेका हुन् । ।

शुभकामना सन्देशमा उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।

उनले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन आग्रह गरेका हुन् ।

ताजा खबर