सोनाम ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

२०७८ माघ १९ बुधबार ०९:११:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले सोनाम ल्होछारबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार बाघ वर्ष सुरु भएको खुसियालीमा सोनाम ल्होछार पर्व मनाउँदै आएको पाइन्छ ।

यो पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । ल्होछारको अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।

 

ताजा खबर