राष्ट्र सङ्घ सुरक्षा परिषद् बैठकमा अमेरिका र रुसी राजदूतबीच आरोप प्रत्यारोप

२०७८ माघ १८ मंगलबार ०८:५६:०० मा प्रकाशित

युक्रेनसँगको आफ्नो सिमानामा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बैठक बोलाएपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच आरोपप्रत्यारोप भएको छ । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन् ।

उनका रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाए । रुसले युक्रेनमा आक्रमण गरे अमेरिका र ब्रिटेनले थप प्रतिबन्ध लगाउने वाचा गरेका छन् ।

ब्रिटिश विदेशमन्त्री लिज ट्रसले क्रेमलिन नजिकका व्यक्ति र व्यवसायको अहिलेको भन्दा व्यापक दायरालाई समेट्ने गरी कानुन तयार भइसकेको बताइसकेकी छन् । एकजना अमेरिकी अधिकारीका भनाइमा वाशिङ्टनले क्रेमलिन नजिकका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने खाले प्रतिबन्ध लगाउन सक्नेछ ।

रुसले युक्रेनी सीमा नजिकै करिब एक लाख सेना, ट्याङ्क र क्षेप्यास्त्रहरू राखेको छ । सोमबारको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा राष्ट्रसङ्घका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले रुसले युक्रेनविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाइरहेको छ भन्ने कुनै प्रमाण नभएको बताए । उनले त्यसका लागि सेना खटाइएको भन्ने कुराको संयुक्त राष्ट्रसङ्घद्वारा पुष्टि पनि नगरिएकोमा जोड दिए ।

रुसले आफ्नै क्षेत्रमा सेनाको तैनाथी गर्ने गरेको भन्दै त्यो वाशिङ्टनको सरोकारको विषय नै नभएको उनको भनाइ छ । रुसले उक्त संयुक्त राष्ट्रसङ्घीय निकायको खुला बैठक सत्रलाई अवरुद्ध गर्ने प्रयास गरेको थियो। तर उसको प्रयास असफल भयो ।

ताजा खबर