प्रिन्स दाहाल बन्जारा एग्रोको ब्रान्ड एम्बेसडर नियुक्त

२०७८ माघ १७ सोमबार २०:३६:०० मा प्रकाशित

विराटनगर । नेपालमा पहिलोपटक कृषि उत्पादनको प्रचारप्रसारका लागि खेलाडीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्ने प्रचलन आजदेखि यहाँ सुरु भएको छ ।

विराटनगर–१२ स्थित बन्जारा एग्रोले निकट भविष्यमा उत्पादन गर्ने बोतल बन्द दूधको प्रचारप्रसारका लागि विश्व जुनियर ब्याडमिन्टका एक नम्बरका नेपाली खेलाडी प्रिन्स दाहाललाई ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको छ । एग्रोका सञ्चालक सञ्जय चापागाईं र दाहालबीच सोमबार सम्झौतापत्र हस्ताक्षर गरी आदानप्रदान गरियो ।

गजेन्द्र शर्मा बन्जारा र चापागाईंद्वारा संयुक्त रुपमा स्थापित एग्रोले पहिलो चरणमा विराटनगरमा आठ करोडको लागतमा पाँच बिघा क्षेत्रफलमा हलस्टोन, जर्सी लगायतका उच्च दूध दिने ५० वटा गाईपालनबाट दैनिक एक हजार लिटर दूध उत्पादन गरिएको छ । सो अवसरमा सञ्चालक चापागाईंले कृषि क्षेत्रको प्रवद्र्धन र स्थानीय जनताको आर्थिक स्तर उकास्न यस क्षेत्रमा कृषि फर्मको स्थापना गरेको बताए ।

उनले ब्याडमिन्टन खेल पछाडि परेको र यसको विकासका साथै कृषि उत्पादनलाई फाइदा पुर्याउन  ब्रान्डिङ गरेको जानकारी दिए ।

ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष सुभाष श्रेष्ठ, निर्णायक उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन प्रिन्सका व्यवस्थापक विकास खेतानले कृषि उत्पादन वृद्धिले मुलुकको व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने बताए । उनीहरूले जग्गा उपलब्ध भएमा विराटनगर रानीमा ब्याडमिन्टन हल निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा खबर