खल्ती र फोनपे बीच सम्झौता

२०७८ माघ १७ सोमबार १९:०४:०० मा प्रकाशित

काठमाडौं । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे ।

सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आवद्ध भएको छ । अब खल्तीका सबै प्रयोगकर्ताहरुले फोनपेको क्यूआर मार्फत सेवा प्रयोग गर्न सक्नेछन् । । सम्झौता कार्यक्रममा बोल्दै फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका रहने बताए ।

त्यस्तै, खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो एक सम्झौतामात्र नभएर डिजिटल नेपाल बनाउने सहकार्य भएको बताए । खल्तीका ग्राहकले फोन पेसँगको सम्झौतासँगै फोन पेको जुन ठाउँमा क्यूआर पेमेन्ट सेवा उपलब्ध छ, त्यहाँ खल्ती वालेटबाट पेमेन्ट गर्न सकिने भएको छ । दुई वर्षअघि स्थापना भएको फोन पेमा अहिले ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट सहभागी रहेका छन् ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पे प्रयोग गर्दै आएका छन् । त्यस्तै फोन पेमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । त्यस्तै, सन् २०१७ मा स्थापना भएर सेवा शुरु गरेको खल्तीको पनि २० लाखभन्दा बढी प्रयोगकर्ता रहेका खल्तीले जनाएको छ ।

खल्ती प्रयोगकर्ताहरुले विभिन्न किराना पसल, होटल, रेष्टुरेन्ट, फिल्म हल, सार्वजनिक यातायात, धार्मिक क्षेत्रलगायत अन्य व्यापारिक क्षेत्रमा निकै लोकप्रिय बनेको फोन पेको क्यूआर कोडबाट भुक्तानी गर्ने अवस्था थिएन । खल्तीमा विभिन्न खुद्रा पेमेन्ट तथा अनलाइन पेमेन्टहरु हुँदै आएको थियो ।

ताजा खबर