खोपको मौज्दात र खोप लगाएको विवरण चार दिनभित्र पठाउन निर्देशन

२०७८ माघ १७ सोमबार १७:०८:०० मा प्रकाशित

काठमाडौं । हराएको भनिएको कोभिडविरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन सूचना जारी गरेको छ ।

समितिको सोमबार बसेको पहिलो बैठकले माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकार सबै पक्षलाई आग्रह गरेको हो । बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । विवरण पठाउँदा डीएचएस–२ प्रणाली अनुसार पठाउन भनेको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार खोप खोज्नका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका थिए ।

ताजा खबर