लुुम्बिनी प्रदेशमा ३३ लाख भन्दा बढीले लगाए कोभिडविरुद्धको खोप

२०७८ माघ १७ सोमबार १४:५१:०० मा प्रकाशित

लुम्बिनी । लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मलेनमा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।

तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्युु भएको छ । प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीयू, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् । प्रदेशमा ११ लाख चार हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिए ।

कोरोना सङ्क्रमण यता लुुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार ७६६ जना सङ्क्रमित भएका थिए । प्रदेशभरको कूल जनसङ्ख्याको १९ दशमलब १४ प्रतिशत नागरिक सङ्क्रमित भएका छन् ।

ताजा खबर