म्याग्दीको मङ्गलामा २१ लाखको सुन्तला बिक्री

२०७८ माघ १६ आइतबार १४:४३:०० मा प्रकाशित

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी २१ लाख आम्दानी गरेका छन् । बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिए ।

“पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,” उनले भने, “सरदर ७० रुपैयाँ प्रतिकिलोका दरले सुन्तला बिक्री भयो ।” एउटा परिवारले सरदर एक लाखभन्दा बढी आम्दानी गरेको उनले बताए । गत वर्ष १५ लाख बराबरको सुन्तला बिक्री भएको थियो । अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो ।

पाँच मुरी कोदो फल्ने बारीमा सुन्तलाखेती गरेर वार्षिक तीन लाखसम्म आम्दानी र्गो गरेको बेम गिरीले बताए । “अन्नबालीभन्दा सुन्तलाबाट धेरै फाइदा छ,” उनले भने, “त्यही भएर मकै र कोदो लगाउन छाडेर सुन्तला लगाएका छौँ ।”

उपयुक्त हावापानी र अनुकूल भूगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो । नयाँ बिरुवा थपिने क्रमसँगै बर्सेनि उत्पादन पनि बढेको छ । किसानले न्यूनतम एक सयदेखि ५०० बोटसम्म सुन्तलाखेती गरेका छन् । उनीहरुले बगैँचाभित्र तरकारी, अदुवा र बेसारखेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् ।

सिँचाइ र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतीका लागि चुनौति बनेको छ । सुन्तला बिक्री र आवतजावतका लागि पोक हुँदै  भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुनसकेको छैन । भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ ।

सुन्तला बगैंचामा  सिँचाइ गर्न समस्या छ । लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिँचाइ पुर्याउन समस्या भएको स्थानीय गणेश गिरीले बताए । बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूहमार्फत भोर्लेनी र भेडाबारीमा सिँचाइ आयोजना निर्माणको तयारी भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताइन् ।

ताजा खबर