उत्तर कोरियाद्वारा सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण

२०७८ माघ १६ आइतबार १०:५५:०० मा प्रकाशित

उत्तर कोरियाले ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले आइतबार बिहान पूर्वी तटबाट सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।

जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उक्त परीक्षणको निन्दा गरेका छन् । यो महिनामा प्योङ्याङले प्रहार गरेको सातौँ क्षेप्यास्त्र हो । उत्तर कोरियाका नेता किम जङ–अनले आफ्नो देशको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने वाचा गरेका छन् ।

राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ र कडा प्रतिबन्धहरू लगाएको छ । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार आइतबार परीक्षण गरिएको क्षेप्यास्त्र मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र (आईआरबीएम) हो ।

जापानी र दक्षिण कोरियाली अधिकारीहरूले उक्त क्षेप्यास्त्र आकाशमा २ हजार किलोमिटरको उचाइमा र ३० मिनेट उडेर ८०० किलोमिटर पर पुगेको बताएका छन् । उक्त क्षेप्यास्त्र जापान सागरमा झरेको थियो ।

अमेरिकाले उक्त परीक्षणले संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता उल्लङ्घन गरेको भन्दै उत्तर कोरियालाई उत्तेजनापूर्ण काम नगर्न तथा वार्तामा सहभागी हुन आग्रह गरेको छ।

ताजा खबर