अमेरिकाद्वारा बंगलादेशलाई थप ७४ लाख डोज खोप सहयोग

२०७८ माघ १५ शनिबार २२:०२:०० मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरूद्धको खोपको अर्को ७४ लाख मात्रा शुक्रबार बङ्गलादेश पठाएको छ । “विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख ३४ हजार १८० मात्रा कोभिडविरूद्धको खोप बङ्गलादेशका लागि पठाएको छ,” ह्वाइट हाउसका एकजना अधिकारीले भने ।

सार्वजनिक–निजी साझेदारी गावीको सह–नेतृत्वमा विश्वव्यापी वितरण पहलमा विश्वभर कोभाक्सको ४० करोडभन्दा बढी खोप अमेरिकाले विदेशलाई सहयोग गरिसकेको ती अधिकारीले बताए । वासिङ्टनले विश्वभर एक अर्ब १० करोडभन्दा बढी खोपको मात्रा सहयोग गर्ने वचन दिएको छ । अमेरिकी यस वचन पालना हुनसकेमा अन्य कुनै पनि देशले भन्दा बढी खोप सहयोग गर्ने मुलुक अमेरिका बन्नेछ ।

अमेरिकाले ग्वाटेमालादेखि पापुआ न्यु गिनीजस्ता देशहरूमा खोपहरू पठाइसकेको छ । अमेरिकी खोप अक्सर चीन र रूस हुँदै अन्य मुलुक जाने गर्छन् जसलाई अमेरिकाको खोप कूटनीति भनिने गरिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार बङ्गलादेशमा करिब १७ लाख ५० हजार मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यसमध्ये २८ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

विश्वकै सबैभन्दा गरिब देशहरूमध्ये एक, बङ्गलादेशले लगभग १६ करोड ५० लाख मानिसहरूमध्ये ३६ प्रतिशतलाई पूर्ण खोप लगाएको छ । केइजर फेमिली फाउन्डेसनको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकाले बङ्गलादेशमा कोभिडविरूद्धको दुई करोड ८४ लाख मात्रा खोप यसअघि नै पठाइसकेको छ ।

ताजा खबर