अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा विमलको गोलमा नेपालको जित

२०७८ माघ १५ शनिबार १९:२५:०० मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले मौरिससलाई पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमल घर्तीमगरले दोस्रो हाफमा गोल गरेपछि नेपाल एक शून्लयले विजयी भएको हो ।

विमलले ५५औं मिनेटमा गोल गरेका हुन् । उनले १८ यार्ड क्षेत्रबाट सानदार गोल गरेका थिए । दुई वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमलले दशौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका विमल सन् २०१९ को नोभेम्बरमा विश्वकप छनौट अन्तर्गत जोर्डनसँगको खेलयता राष्ट्रिय टोलीमा परेका थिएनन् ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालले गोलका राम्रा केही अवसर खेर फालेको थियो । ७५औं मिनेटमा बायाँ कर्नर नजिकैबाट सब्स्टिच्युड जगजीत श्रेष्ठले गरेको फ्रिकिक प्रहारमा अन्जन विष्टको हेडर क्रसबारमा लागेर फर्कियो ।

त्यसको तीन मिनेटपछि नेपालले एकैपल्ट गोलका दुई अवसरमा चुक्न पुग्यो । अन्जनले १८ यार्ड बक्सबाट गरेको प्रहार पोलमा लागेर फर्किँदा रिवाउन्ड बलमा जगजीतको हेडर मौरिससका गोलरक्षक केभिन जीन लुइसले पन्च गरेर बचाए ।

यसअघि पहिलो हाफमा खेल सुरु भएको दोस्रो मिनेटमै नेपालले अग्रता लिने अवसर गुमाएको थियो । १८ यार्ड बक्सको ठीक बाहिरबाट सुनील बलको फ्रिकिक प्रहार डिफ्लेक्ट हुँदै पोल नजिकैबाट बाहिरिएको थियो । मौरिससका फर्नान्डो ज्याक्सनले सुनीललाई नै फल गरेपछि नेपालले राम्रो स्थानबाट फ्रिकिक पाएको थियो ।

३१औं मिनेटमा सुमन लामाले करिव २५ यार्डबाट गरेको प्रहारले पनि पोष्टको दिशा लिन सकेन । ३४ औं मिनेटमा मौरिससले गोलको एउटा अवसर बनाएको थियो । दोस्रो हाफमा सुरुमै मौरिससले पनि गोलको एउटा सुनौलो अवसर सृजना गरेको थियो ।

फर्नान्डो ज्याक्सनको लेफ्ट फुटेट प्रहार पोलमा लागेर फर्किँदा गौतम श्रेष्ठले क्लियर गरिदिएका थिए । दुई टोलीबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल माघ १८ गते हुनेछ ।

 

ताजा खबर