एपीएफलाई आहा रारा गोल्डकपको उपाधि

२०७८ माघ १५ शनिबार १७:१५:०० मा प्रकाशित

पोखरा । विभागीय क्लब एपीएफले २० औं संस्करणको आहा ! रारा गोल्डक कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा मनाङ मस्र्याङ्दी क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

निर्धारित समय २–२ गोलको बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा पनि गोल नभए पछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियोे । प्रतियोगिताको कीर्तिमानी १२ औं पल्ट फाइनल खेलेको मनाङ विरुद्ध एपीएफले पहिलो हाफमा अग्रता बनाएको थियो । एपीएफका लागि युवराज खड्काले २०औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा खेलले नाटकीय मोड लियो । दुई विदेशी खेलाडीले गोल गरी मनाङलाई खेलमा फर्काए । खेल ६७ औं मिनेटमा मनाङका भारतीय मिडफिल्डर दयानन्द सिंहले बराबरी गोल फर्काए । ८३औं मिनेटमा विमल रानाको क्रसमा फ्र्यांकलिन कुते तालाले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट हेडिङ गोल गरी अग्रता दिलाए । खेलमा अन्त्यतिर लिएको अग्रता मनाङले जोगाउन सकेन ।

इन्ज्यूरी समयको पहिलो मिनेटमा एपीएफका रवि थिङले हेडमार्फत गोल गरी खेललाई अतिरिक्त समयतर्फ पुर्याए । अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउट भएको थियो ।

जसमा एपीएफका पाँचै जनाले गोल गर्दा मनाङका अफिज ओलाआले गोल गर्न चुकेपछि सर्वाधिक सफल टिम मनाङ आफ्नो होम ग्राउण्डमा पराजित भयो । उपाधि विजेता एपीएफले नगद १० लाख १ हजार पाउँदा उप विजेता बनेको मनाङले ५ लाख १ हजारमा चित्त बुझाएको छ ।

ताजा खबर