गठबन्धन टुटाउने ओलीको प्रयास सफल हुन्नः माधव नेपाल

२०७८ माघ १५ शनिबार १३:५९:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बैशाखमै स्थानीय तहको निर्वाचन भएपनि आफ्नो पार्टी सामना गर्न तयार रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जुनसुकै बेला पनि निर्वाचनको सामना गर्न तयार रहेको बताएका हुन् । उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेका र उनको त्यो प्रयास सफल हुन नदिने बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए ।

उनले भने,‘ चुनाव यही बैशाखमै, जेष्ठमा वा असारमा गर्ने हो भने पनि सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं । चुनावदेखि हामी डराउँदैनौं । गठबन्धन टुटाउन केपी ओली आफैं लागेका छन् । अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरु फालेर उनले दाउपेचहरु दिइरहेका छन् । यो कुनै दाउपेचले चल्नेवाला छैन ।’

उनले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने बताए । उनले  स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गरे ।

ताजा खबर