भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

२०७८ माघ १४ शुक्रबार ११:००:०० मा प्रकाशित

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो ।

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले जानकारी दिए । उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र ८३ हजार ६०० नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् । नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए ।

ताजा खबर