अनलाइनबाटै अब भन्सार महसुल बुझाउन सकिने

२०७८ माघ १२ बुधबार १९:३५:०० मा प्रकाशित

काठमाडौं । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुवात गरेका छन् । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार आयोजित समारोहकाबीच अर्थमन्त्री शर्माले प्रणालीको शुभारम्भ गरेका हुन् ।

इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे ।

योसँगै ‘नयाँ युग’को सुरुवात भएको पनि उनले बताए । “व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातय लागि यसले महत्वपूर्ण औजारका रूपमा काम गर्नेछ”, उनले भने, “यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।” त्यस्तै उनले भन्सार बिन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए ।

उनले भन्सारको निरन्तर सुधारअन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए । मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । “हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ”, उनले भने, “कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।”

सबै वस्तु आवश्यकपर्ने मात्र नआउने भन्दै उनले नेपाल र छिमेकी राष्ट्रको सुरक्षामा खतरा हुनसक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गरे । उनले भन्सार बिन्दुमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे । समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवं तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्दै यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचोसमेत औँल्याए । निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरे ।

परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनले जिकिर गरे । हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

 

ताजा खबर