गण्डकी र वाग्मती प्रदेशमा पनि गठबन्धनकै जित

२०७८ माघ १२ बुधबार १८:४०:०० मा प्रकाशित

पोखरा । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् । पन्तलाई स्थानीय तहबाट ९४ मत र प्रदेशसभा सदस्यबाट २९ मत प्राप्त भएको छ ।

उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहबाट ७४ मत र प्रदेशसभा सदस्यको २९ मत पाइन् । यसैगरी दलित कोटातर्फ भुवनबहादुर सुनारले स्थानीय तहबाट ९१ मत र प्रदेशसभा सदस्यको २९ मत पाएका थिए ।

उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहको ७४ र प्रदेशसभा सदस्यको २९ मत पाएका छन् । यस्तै अन्य कोटाबाट सुरेश आलेमगरले स्थानीय तहबाट ९२ मत र प्रदेशसभा सदस्यको ३० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहको ७५ र प्रदेशसभा सदस्यको २८ मत पाएका छन्

वाग्मतीमा पनि गठबन्धनकै उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनका तर्फका नेकपा (एकीकृत समाजवादी) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत पाएकी थिइन् ।

पौडेलले स्थानीय तहतर्फ ११७ मत पाएका थिए थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गरे ।

पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत र प्रदेशतर्फ ४७ मत प्राप्त गरिन् । एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत प्राप्त गरे भने प्रदेशतर्फ ४७ मत पाएका थिए ।

ताजा खबर