'कांग्रेसलाई आँटी नेताको खाँचो छ'-डा.रामशरण महत 

२०७४ पौष ११ मंगलबार ०८:५९:०० मा प्रकाशित

भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा आएको परिणामलाई कसरी लिनुभएको छ?

परिणाम निराशाजनक नै आएको छ । विभिन्न कारणले निर्वाचन परिणाम नेपाली कांग्रेसका लागि सकारात्मक रहेन । यो निराशाजनक नै हो । यसको लागि हामी तयार थिएनौं । यसको बिश्लेषण गर्दा केही ठोस कारणहरु छन् । पहिलो कारण हो – यो दुई पक्षिय निर्वाचन भयो ।  कांग्रेस र बामगठबन्धन वीच । यसरी दुई पक्षिय प्रतिष्पर्धा होला भनेर त्यसको लागि हामी तयार थिएनौं । हाम्रो मानसिकता पनि तयार थिएन । नेपालको लागि यो पहिलोपटक भएको हो । यो भन्दा अघि त्रिकोणात्मक लडार्इं भएको थियो अथवा चौकोणात्मक पनि थियो । मल्टिपल डिरेक्सनमा निर्वाचन भयो । दुई पक्षीयको लागि हाम्रो संगठन पनि मोटामोटी रुपमा तयार थिएन । यो अनायासाय भएको हो । माओवादी र एमाले यसरी मिल्छन् र एक भएर लड्छन् भन्ने कुरा चाहि कसैले कल्पना पनि गरेका थिएनन् ।

बाम गठबन्धनका बारेमा कुनै संकेत पनि थिएन त?

 थिएन, उनीहरु अचानक मिले । त्यसको लागि तयार पनि थिएनन् । मिले पनि यस्तो परिणाम आउने संभावना देखिँदैन थियो । हामीलाई आशा र विश्वास थियो उनीहरु राष्ट्रिय लेभलमा मिल्दैमा नेताहरुको बिचमा समझदारी हुँदैमा यो गठबन्धन तल्लो लेभलसम्म पुग्दैन । तर तल्लो तहसम्म मिलेर निर्वाचनमा गए,उनीहरुको पक्षमा परिणाम गयो । यसको मतलब बाम गठबन्धन तीनवटा मुख्य शक्ति मध्ये दुईवटा शक्ति एकातिर हुँदा कांग्रेसलाई नोक्सान त्यसैले गर्यो । दोस्रो कारण हो – कांग्रेसको आन्तरिक संगठन पहिला जस्तो त्यति बलियो भएन । आन्तरिक रुपमा हाम्रो व्यवस्थापन पक्ष अत्यन्त कमजोर भयो । एकातिर संगठनमा धेरै कमी कमजोरी रह्यो । गुटबन्दी धेरै भयो । व्यक्तिबादी प्रवृत्ति हामी हुन थाल्यो । अनि जनताको घरदैलोमा सँधै पुग्ने समस्या बुझने, भिज्ने प्रवृत्ति दिनप्रतिदिन घट्दै गयो । नेता कार्यकर्ता धेरै व्यक्तिमुखी हुनथाले । नेता आफ्नो पक्षमा भएपछि मेरो आफ्नो प्रभुत्व भइहाल्छ जितिहाल्निछ भन्ने प्रवृत्ति बढि हावी भयो ।

उम्मेदवार छनौट प्रक्रियामा पनि यही प्रवृत्ति हावी भएको हो त?

हो । एकातिर संगठनमा त्यो भयो भने टिकट बाँड्ने मामिलामा पनि धेरै ठाउँमा गुटबन्दी बढि हावी भयो । समग्रमा गठबन्धन हावी भएको पनि यही कारणले हो । त्यहाँमाथि उम्मेदवार छनौटको क्रममा हामीले अघि देखि नै बढि समय दिएर बिश्लेषणको आधारमा जिल्ला जिल्लाको,  निर्वाचन क्षेत्र क्षेत्रको आधारमा उम्मेदवार चयन भएन । हतार हतारमा उम्मेदवार चयन भयो । तयारी खासै त्यति भएन । त्यसमा पनि कतिपय ठाउँमा गुटबन्दी हावी भयो ।

त्यसको साथै, अर्को सरकारको पक्ष हेर्ने हो भने सरकारले छवि राम्रो प्रस्तुत गर्न सकेन । विगतमा जे जति घटना राजदुत प्रकरण देखि लिएर आइजिपी प्रकरण समेत पनि हावी भयो । सरकारको तर्फबाट जुन प्रकारको निर्णयहरु भयो त्यसले जनमत कांग्रेसको खिलाफमा गयो । त्यसले पनि चुनावलाई नकारात्मक प्रभाव पार्यो ।

यहाँ आफैं पनि पराजित हुनुभयो,प्रचारमा केको कमी भयो?

अब यसका अनेक कारण छन् । एउटा त मैले प्रष्ट पारिसकें बाम गठबन्धनको असरको बारेमा । अर्को पक्ष भनेको पार्टीको तर्फबाट संस्थागत सन्यन्त्रले जसरी प्रचारप्रशारमा काम गर्नपर्ने थियो त्यस्तो पनि भएन । सबै व्यक्तिगत तहबाटै व्यवस्थित गर्नपरेको थियो । अर्को पक्ष भनेको बाम गठबन्धनका उम्मेदवार र उनीहरुको सन्यन्त्रले निर्वाचन आचार संहिताको धज्जी उडाउन कुनै कसर बाँकी    राखेनन् । मध्यरातमा गाउँगाउँ गएर छापामार शैलीमा पैसा वितरण गरे,जसलाई रोक्ने र कार्बाहीगर्ने चासो र पहल कतैबाट भएन । यस्ता गतिविधि पनि कारक रहे । प्रमुख पक्ष त पार्टीको संस्थागत प्रचार सन्यन्त्रको भूमिकाबाट कसैलाई पनि लाभ मिल्न सकेन ।

लोकतान्त्रिक गठबन्धन त भएको थियो नि त्यसको फाईदा भएन भन्न खोज्नुभएको हो?

त्यो वास्तवमा गठबन्धन नै भएन । लोकतान्त्रिक गठबन्धन भनेर चाहि भनियो तर मैले त त्यसलाई वास्तवमा गठबन्धन नै भनिन । यो चुनावी तालमेलको प्रयास हो, जुन चुनावी तालमेलमा पनि यस्तो परिणाम आयो । उता मधेशको भोट भएको २ नम्बर क्षेत्रमा उनीहरुको थियो । त्यसमा हामीले जस्तो उपेन्द्र यादवको खिलाफमा उम्मेदवार नलडाएर सर्मथन गर्यौं । महन्थ ठाकुरलाई समर्थन गर्यौं । अर्को पक्ष उनीहरुले चाहि हाम्रो कुनै पनि उम्मेदवारलाई समर्थन गरेनन् । फाइदा मात्र लिए । त्यो तालमेलले अर्को पक्षलाई चाहि फाइदा गर्यो । कांग्रेस पक्षलाई नोक्सान मात्रै   गर्यो । कुनै पनि फाइदा भएन ।

 किन यस्तो भयो त? 

वास्तवमा भन्ने हो भने मधेशवादी दल र तिनका नेताहरुसँग छलफल गर्दा यति धेरै समय बितेको छ । हाम्रो संसदीय बोर्डले आफ्नो संगठनको बारेमा ध्यान दिनभन्दा बढी उनीहरुसँग छलफलमा बिताएको छ । उनीहरुका संसदीय दलका नेताहरुसँग नै प्रधानमन्त्रीको समय बितेको छ । तर हामीले उनीहरुलाई सहयोग गर्यौं,उताबाट सहयोग भएन,त्यसको परिणाम सकारात्मक निस्केन । किनभने यो जसरी भागवन्डा गरिनु पर्थ्यो सिट भागवन्डा चाहि कुरो मिलेन । त्यस्तै राप्रपाको पनि धेरै जसो राष्ट्रिय लेभलमा त मिल्यो । हामीले कतिपय ठाउँमा उनीहरुको उम्मेदवारलाई पनि सहयोग गर्यौं तर धेरै ठाउँमा राप्रपाले कांग्रेसलाई समर्थन गरेन ।

नेपाली कांग्रेसले आफुले गरेका कामहरुबाट फाईदा लिन नसकेको हो? 

यो पनि सही हो । कांग्रेसले बिगतमा सम्पन्न गरेका कैयौं काम छन्,जसले देश र जनताको जीवनमा व्यापक परिवर्तन भएको छ,तिनको लाभ लिन सकेन । काम कांग्रेस गर्ने लाभ अरुले नै लिने भएको छ । राजनीतिक रुपमा र आर्थिक रुपमा कांग्रेसले यति धेरै काम गरेको छ कि कांग्रेस कै कारणले अहिलेसम्म अर्थव्यवस्था यो अवस्थामा आयो । टिकेर बसेको छ । देशमा गरिबी घटेको छ । पुर्वाधारको बिकास भएको छ । राष्ट्रिय ढुकुटी दिनप्रतिदिन बलियो हुँदै गएको छ । कांग्रेसले हिजो लिएको नीतिका कारणले गर्दा त्यसलाई हामीले के आशा गर्न सक्छौं कि त्यसको प्रचार गर्न सकेनौं । भूकम्प पश्चात हामीले राहत त्यसरी वितरण गर्यौं । त्यसपछि पूर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरेर खर्बाैं रकम जुटायौं । ती सबै कुरा कांग्रेसले प्रचार गरेन,गर्न सकेन ।

कांग्रेसको संगठनात्मक र व्यवस्थापन नै हो कमजोरी । हाम्रो प्रचार संयन्त्रको कमजोरी । व्यक्तिवादी प्रवृत्ति बढि हावी भयो । आन्तरिक घातप्रतिघात पनि ठाउँ ठाउँमा धेरै भएका छन् । शुरुमा मैले जुन कुरा भने त्यसैले यसले पुष्टि गर्छ । कांग्रेसका पक्षमा जुन जनमत छ त्यति घटेको त छैन । अहिले पनि समानुपातिकमा पाएको भोट र कांग्रेसका उम्मेदवारहरुले पाएको भोट हेर्ने हो भने त्यस्तो फरक देखिँदैन । त्यसकारणले यो त्रिकोणात्मक नभएर प्रत्यक्ष दुइपक्षीय प्रतिष्पर्धा भएकाले हामीहरुलाई नोक्समान भयो । 

अब के पार्टीको संरचनालाई नै फेरबदल गर्नुपर्ने हो त? 

बिल्कुलै रिर्फम गर्नुपर्ने आवश्यक्ता छ । नेतृत्वमा बस्नेहरु देखि लिएर नेतृत्व भन्दा ग्रामिण तहदेखि लिएर केन्द्रीय तहसम्मको नेतृत्वमा पुनर्संरचनाको आवश्यक्ता छ । कांग्रेसमा अहिले गुटबन्दी बढि हावी भएको छ । त्यसलाई समाप्त गर्न नेतृत्व संरचनाकै रुपमा जानुपर्यो । अहिले एउटा सामान्य तरिकाको भूमिका खेल्ने लिडरशिपको आवश्यक्ता छ । कांग्रेसको कार्यशैलीमा पनि आमुल परिवर्तन गर्नुपर्दछ । कार्यसमिति बनेको तर बैठक बस्दै बस्दैन । नेता कार्यकर्ता गाउँगाउँमा मतदाताहरुका कहाँ पुग्दैनन् । चुनावको बेलामा पनि मतदाताहरुकोमा पुगेका छैनन् । हाम्रो संगठनको मानसिकता कस्तो भयो भने जसो भए नि जितिहाल्छौं । सधंै जितिरेहको त हो नि भन्ने जस्तो भयो । हामी बढि आत्मविश्वास र निर्धक्क भएर बस्ने गर्छौ । त्यसकारणले कांग्रेसको संगठन बढि क्रियाशिल बनाउन जरुरी छ । धेरैजसो   कांग्रेसका नेताहरु जिल्लामा बस्दैनन् । यसरी कहाँ चल्छ ।

अहिलेको परिवर्तित परिस्थितिमा कांग्रेस कसरी अगाडि बढ्छ त?

अहिले जो आवाज नयाँ पुस्ताहरुबाट उठेको छ नेतृत्वको बारेमा स्वभाविक नै हो । म यसलाई अन्यथा लिदिन । आफ्ना आफ्ना कुराहरु राख्न र आफ्ना बिचारहरु राख्ने स्वतन्त्रता त सबैलाई छ नि । जस्तो नेतृत्व बदल्नु पर्छ छोड्नु पर्छ भनेर पनि भनेका छन् यी स्वभाविक प्रतिक्रिया हुन् । तर नेतृत्व भनेको नयाँ पुस्ता आएर मात्रै चमत्कार हुने पनि होइन । कतिपय ठाउँमा पुरानै नेतृत्वले राम्रोसँग काम गरेर सफलता पाएका छन् । कतिपय ठाउँमा नयाँ नेतृत्व पनि छ । नयाँ र पुरानोको विवाद भन्दा पनि पार्टीलाई सहि नेतृत्व दिनसक्ने सबैलाई समेटेर एउटा सन्तुलित ढंगले एउटा समन्वयकारी भुमिका खेल्न सक्ने, प्रतिपक्षसँग राम्रो अडान लिन सक्ने आँट भएको नेतृत्वको आवश्यकता छ । नेतृत्वमा बस्ने नेताको भूमिका समन्वयकारी पनि हुनुपर्यो । कार्यकर्ताको विश्वास प्राप्त गर्ने नेतृत्व पनि हुनुपर्यो । संगठन कार्यशैली यी सबै लगायतका बिषयमा नेतृत्व गर्न सक्ने व्यक्तिको बारेमा सोच्ने समय भने आएकै हो ।

नेतृत्वको पुनर्संरचना र पुनर्बिचारको शुरुवातको चरण कसरी थालनी होला त ? 

मैले भनिसकें दुर्भाग्य नै भन्नुपर्छ निर्वाचन परिणाम आएको यतिका दिनसम्म पनि पार्टीको कार्यसमितिको बैठक पनि बसिरहेको छैन । जबकी तत्काल कार्यसमिति बसेर प्रारम्भिक छलफल गरेर संगठनभित्र एउटा सन्देश दिन पर्नेथियो । अहिलेसम्म हामीले एउटा समीक्षा पनि गरिसकेका छैनौं । अरु पार्टीहरुले गरिसके हामी एउटा कार्यसमितिको बैठक पनि बस्न सकेका छैनौं । पहिला कार्यसमितिको बैठक बोलाउनु पर्छ त्यसपछि तुरुन्तै महासमितिको बैठक बोलाउनुपर्छ । आवश्यक पर्यो भने महासमितिकै बैठकले महाअधिवेशन बोलाए पनि हुन्छ । अब कतिपयले महाअधिवेशन नै बोलाउनुपर्छ नेतृत्व बदल्नुपर्छ भनेर भन्दैछन् । त्यो भन्ने अधिकार उहाँहरुलाई छ  । तर मेरो बिचारमा कार्यसमिति बैठक तुरुन्तै केही दिन भित्रै बेलाएर महासमितिको बैठक एकढेड महिना भित्र बोलाउने र देशभरीका   महासमितिका प्रतिनिधि साथीहरुका कुरा सुनेर त्यसको आधारमा महाधिबेशन बोलाउनु पर्छ कि पर्दैन त्यसपछि निर्णय गर्ने कुरा हो । 

बाम गठबन्धनको राजनीतिक भविष्य के हो ? 

अब गठबन्धन नै रहिरह्यो र यसले स्थिरता दिन सक्यो भने राम्रै कुरा हो । म यसलाई कुनै आपत्तिजनक मान्दिन । एकहिसाबले पोलाराजेसन हुनु कुनै आपत्तिनजनक बिषय पनि होइन । ठुलो पार्टी नै भयो भने पनि हामीले भोली आफ्नो संगठन सुधार गर्यौं र नेतृत्वमा सुधार आयो भने  भोली नेपाली कांग्रेसको नेतृत्वमा फेरि सत्ता आउनसक्छ । दुई पार्टीमै जाने हो भने पनि त्यसलाई नराम्रो भन्न मिल्दैन । यो बाम गठबन्धनले स्थिरता दियो र देशको अर्थव्यवस्थालाई अगाडि लग्यो भने राम्रै होला । यो गठबन्धनले विशेष गरेर नेपालको पराष्ट्रनीतिको मामिलामा असन्तुलित व्यवहार गर्ला भन्ने मलाई बिश्वास छैन । जुनसुकै दल सत्तामा आओस् न भारतमुखी भएर मात्र त्यो चल्न सक्छ, न चीनमुखी भएर नै चल्न सक्छ । हाम्रा दुइटा छिमेकी राष्ट्रहरु छन् । दुबैसँग हामीले राम्रो सम्बन्ध राख्नुपर्छ । सन्तुलित ढंगको सम्बन्ध राख्नुपर्छ र त्यसको विकल्प पनि रहँदैन ।

केही विदेशी संचारमाध्यमले नेपालको स्वतन्त्र अस्तित्वलाई होच्याउने गरि भारतको पकडबाट बाहिर गयो,अब चीनतिर ढल्कियो भनेर टिप्पणी गरेका छन् नि ?
हो मैले पनि पढेको छु यस्ता टिप्पणी जो अत्यन्त आपत्तिजनक छन् । कतिपय व्यक्ति जसले नेपालको नागरिकता लिएका छन्,पढेलेखेका जस्ता पनि लाग्छन् तर तिनै व्यक्तिहरु आफ्नो देशकाबारेमा किन यति निकृष्ट बिचार प्रवाह गरिरहेका छन् मलाई आश्चर्य लाग्छ । उनीहरुलाई देखेर मलाई अत्यन्त दुःख पनि लाग्छ । हाँस पनि उठ्छ र दया पनि लाग्छ । कतिपय हिन्दुस्तानी पत्रकारहरुबाट संचालित अखबारहरुमा पनि नेपाल अब चीनको पोल्टामा गयो, चीन हावी भयो भनेर भनिएको छ । भारतीय प्रभाव क्षेत्र नेपालमा घट्यो भनेर भनिएको छ । नेपाल भनेको स्वतन्त्र सार्वभौम राष्ट्र हो । सँधै सार्वभौम रहन्छ भनेर मैले टवीट् पनि गरें । यस्ता निम्नकोटीका असत्य बिचारको सबैले विरोध गर्नपर्छ । हो अलिकति भारत बिरोधि भावना नेपालमा बिकसित भएको हो । तर यो केहि नेताको कारणले भन्दा पनि हो कतिपयको खरो अभिव्यक्तिले भयो पनि होला । उनीहरुका अभिव्यक्तिमा अलिकित भाषागत रुपमा त्यति रिफाइन्ड भएन । मुलकुरा नाकाबन्दीको कारणले नै त हो नि नेपाली जनमत भारतसँग   चिढिएको । जे भएपनि नेपालको सार्बभौम अस्तित्वमा बहस गर्ने अधिकार कसैलाई पनि छैन ।  

 


   
 

ताजा खबर