वर्तमान गठबन्धन निर्वाचनसम्म लगे कांग्रेसलाई घातक हुने कोइराला पक्षको निष्कर्ष

२०७८ माघ १० सोमबार १९:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवा पार्टीभित्र एकलौटी रुपमा चलेको भन्दै असन्तुष्टि जनाएको छ ।

कोइराला पक्षको सोमबार बसेको भर्चुअल बैठकमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा पार्टी सभापति देउवाले पार्टीभित्र छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको हो । बैठकले वर्तमान गठबन्धन निर्वाचनसम्म लगे कांग्रेसलाई घातक हुने निष्कर्ष निकाल्दै गठबन्धन तोड्नुपर्ने बताएको छ ।

बैठकमा नेताहरुले निर्वाचनजस्तो राष्ट्रिय महत्वको विषय पार्टीको केन्द्रीय समितिमा छलफल नभइ गठबन्धनका नेताहरूमाझ मात्र सभापतिले सीमित गर्नु बिडम्वना भएको बताएका छन् । नेताहरुले पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापहरूमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्ने माग गरेको छ ।

बैठकले कोइराला पक्षले वर्तमान सरकारले संवैधानिक मर्म अनुरूप नै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ । बैठकमा कोइरालाले पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्ने बताएका थिए ।

बैठकमा सभापति देउवाले ४० प्रतिशतभन्दा बढी मतको बेवास्ता गरेको विश्लेषण गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसीलगायतका नेताहरु सहभागी भएका थिए ।

 

ताजा खबर