नेप्सेमा ९९ अंकको गिरावट

२०७८ माघ १० सोमबार १६:५५:०० मा प्रकाशित

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन १०० अंकले गिरावट आएको छ । आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले गिरावट आएको छ । सोमबार कारोबारको शुरुवातदेखि उतरचढावका बीच ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको छ ।

आज सेन्सेटिभ इण्डेक्स १८.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ६.१९ अंक घटेको छ । सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २२८ कम्पनी मध्ये ८ कम्पनीको शेयरमूल्य बढेको भने बाँकी कम्पनीको शेयर मूल्य गिरावट आएको छ । सोमबार नेप्से कारोबारका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ ।

जसमध्ये वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् । सोमबार शेयर जार उच्च अंकले घट्दा दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । त्यस्तै गोर्खाज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, ज्योति लाइफ, सानिमा जनरल इन्स्योरेन्सको मूल्य सामान्य बढेको छ । तर यता कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको शेयरमूल्य सबै भन्दा बढी घटेको छ ।

आज कारोबारको आधारमा ३८ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । एनआईसी एशिया बैंकको ३६ करोडभन्दा बढीकोे शेयर कारोबार भएको छ ।

ताजा खबर