गौरको अभिव्यक्ति कसैप्रति लक्षित छैनः मन्त्री यादव

२०७८ माघ १० सोमबार १५:५९:०० मा प्रकाशित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पारेकी छन् । सोमबार विज्ञप्ति जारी गरी मन्त्री यादवले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गरेकी हुन् ।

यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै उनले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताएकी छन् । मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उनले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताइन् । वक्तव्यलाई अत्तिरञ्चित नगर्न पनि उनले विज्ञप्तिमार्फत अनुरोध गरेकी छन् ।

मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहूति दिने वीर सहिदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ का रुपमा मनाउँदै आएको मन्त्री यादवले बताइन् । जनता समाजवादी पार्टीको भातृसङ्गठन समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो ।

सभामा दिइएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन भएको उनको भनाइ छ । शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढङ्गले अपव्याख्या गरेको उनले उल्ल्ेख गरेकी छन् ।

ताजा खबर