पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा

२०७८ माघ १० सोमबार १५:४१:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधन चढ्न लामो बाटो हिँडडुल गर्नका लागि समस्या परेकाले पुरानो बसपार्कबाट बस चढ्ने व्यवस्था मिलाइएको जानकारी दिए । महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ ।

फरक क्षमता भएकाको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपाङ्गतामैत्री व्यवस्था थप्दै जाने महाशाखा प्रमुख जोशीको भनाइ छ । महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई तोकिएको स्थानबाट मात्रै ‘पिक एण्ड ड्रप’ गर्न पनि अनुरोध गरेको छ ।

ताजा खबर