तोरी खेतीमा कृषकको आकर्षण बढ्दो

२०७८ माघ १० सोमबार ०९:५५:०० मा प्रकाशित

चितवन । कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २६० हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको थियो । कार्यालयका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष तोरीखेती गर्ने कृषकको सङ्ख्या बढेको छ । उनले भने, “यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ यसले कृषकलाई आकर्षित गर्यो ।”

गहुँ लगाउने किसानहरु तोरीखेतीतर्फ आकर्षित भएका कारण तोरीखेती गर्ने किसान बढेको र छिटो उत्पादन लिने बाली भएकाले तोरी खेतीमा कृषक आकर्षित भएका उनले बताए । उनलले भने, “तोरी खेती गरे पछि अन्य बाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ ।”

अघिल्लो वर्ष जिल्लामा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहेको भए पनि यो वर्ष २ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयका योजना अधिकृत उमराज अर्याल निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले तोरी खेती गर्न थालेका छन् । जङ्गली जनावरले खासै नोक्सान नपुर्याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएका हुन । उनले भने,“तोरी बालीलाई हात्ती, गैँडा र चित्तलले खासै मन नपाउने भएकाले यसतर्फ कृषक बढ्दै गएका छन् ।”

माडी नगरपालिका वडा नम्बर ३ की रसपतिया चौधरी विगत तीन वर्षदेखि तोरीखेती गर्दै आएकी छन् । त्यसअघि गहँु खेती गर्ने उनी जङ्गली जनावरका कारण खेती गर्न मन लाग्न छोडेको भए पनि माइतीले तोरी लगाउन सल्लाहा दिएपछि यो खेती गरेको बताउँछिन् । उनले भनिन् “जनावरले मकै, गहुँलगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन सुरु गरेँ ।” उनले अहिले एक बिघा क्षेत्रफलमा तोरी खेती गर्दै आएकी छन् ।
अहिले माडीको वडा नं ३ वैराष्ठ क्षेत्रमा अधिकांश स्थानमा तोरीखेती गरिएको छ । निकुञ्जसँग नजिक रहेकाले पनि यस क्षेत्रका किसान तोरी खेतीमा आकर्षण बढेको जागृति कृषक समूहका अध्यक्ष ओमप्रकाश महतोले बताए । उनले भने, “निकुञ्जबाट नजिक रहेकाले जनावरले क्षति नपु¥याउने बालीको रुपमा तोरीखेती गरिएको हो ।” उनले अहिले १२ कट्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएका छन् । यहाँका कृषक अहिले समूहगतरुपमा तोरी खेती गर्दै आएका छन् । समूह निर्माण गरेर तोरी खेती गर्नेको सङ्ख्या बढेको उनले बताए ।

अहिले यस क्षेत्रमा मात्रै २०० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको ज्ञान केन्द्रका योजना अधिकृत अर्यालले जानकारी बताए । कृषि ज्ञान केन्द्र चितवनबाट प्रथम वर्ष सञ्चालन गरिएको तोरी ब्लकको कार्यक्रमले समेत कृषकलाई यस खेतीतर्फ आकर्षण बढाएको उनले जानकारी दिए । चितवनमा मोरङ–२, प्रीति, प्रगति र चितवन स्थानीयजस्ता जातका तोरी लगाइँदै आइएको छ ।

ताजा खबर