दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न अमेरिकाको आदेश

२०७८ माघ १० सोमबार ०८:५८:०० मा प्रकाशित

अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई देश छाड्न आदेश दिएको छ । रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयको यस्तो आदेश जारी भएको हो ।

अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ । उसले अमेरिकी नागरिकहरूलाई युक्रेनबाट बाहिरिन आह्वान समेत गरेको छ ।

एउटा वक्तव्यमा उसले युक्रेनमाथि रुसले हमला गर्ने विवरणहरू आएको जनाएको छ । रुसले भने आफूले युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले चाहिँ युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको छ । युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन् ।

शनिबार अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर हातहतियार सहायता युक्रेन पुगेको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेनप्रति रुसको शत्रुतापूर्ण व्यवहारका कारण अमेरिकाले उक्त देशमाथि चाँडै नै विभिन्न खाले प्रतिबन्धहरू लगाउने बताएका थिए । उनले यदि यस्ता उपायहरू समयमै सुरु गरिए रुसको प्रतिरक्षा क्षमता कमजोर बन्ने दाबी गरेका थिए।
 

ताजा खबर