तालिवान प्रतिनिधिमण्डल ओस्लोमा

२०७८ माघ ९ आइतबार २३:१३:०० मा प्रकाशित

अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिवान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वार्ता सुरु गरेको छ । पश्चिमी अधिकारीहरुसँग अत्यधिक अपेक्षा गरिएको भेटवार्ताभन्दा अगाडि अफगानिस्तान नागरिक समाजका सदस्यहरूले मानवअधिकारमा केन्द्रित रहेर वार्ता गरेका बुझिएको छ ।

विदेशमन्त्री आमिर खान मुताकीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले आफ्नो तीन दिने भ्रमणको पहिलो दिन महिला कार्यकर्ता र पत्रकारहरूसँग वार्तालाई समर्पण गर्ने भएको छ । नर्वेको मध्यस्थतामा भइरहेको र अफगानिस्तानमा मानव अधिकार र मानवीय संकटमा केन्द्रित हुने चर्चा ओस्लोको बाहिरी भागमा रहेको सोरिया मोरिया होटलमा गोप्यरूपमा भइरहेको छ ।

सत्ताच्युत भएको २० वर्षपछि फेरि सत्तामा फर्केका तालिबान समूहले सत्ता सम्हालेपछि मानवीय स्थिति एकदमै खस्किएको छ । कब्जापछि अन्तरराष्ट्रिय सहयोग अकस्मात् रोकियो र थुप्रै गम्भीर सङ्कटपछि भोकमरीबाट पीडित लाखौं मानिसहरूको अवस्था झनै नाजुक बनेको छ ।

कट्टर इस्लामवादीहरूलाई सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको गठबन्धनले सत्ताच्यूत गरेको भएपनि पश्चिमी सेनाहरूको गठबन्धनले देश छोड्न नपाउँदै उनीहरूले सत्तामा कब्जा जमाइसकेका थिए । अहिलेसम्म कुनै पनि देशले तालिबान सरकारलाई मान्यता दिएको छैन । नर्वेली विदेश मन्त्री अनिकेन हुइटफेल्टले भने, “वार्ताले तालिबानको वैधता वा मान्यताको प्रतिनिधित्व गर्ने छैन ।”

उनले भने, “तर हामीले देशका वास्तविक अधिकारीहरूसित कुरा गर्नै पर्छ । हामी राजनैतिक स्थितिलाई अझ खराब मानवीय सङ्कटतर्फ जान दिनु हुँदैन ।” सोमबार तालिबानले संयुक्त राज्य अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, इटाली र युरोपियन युनियनका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन् भने मंगलबार नर्वेका अधिकारीसँग द्विपक्षीय वार्तामा समर्पित हुनेछन् ।

शनिबार एएफपीसँगको अन्तर्वार्तामा तालिवान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले कट्टर इस्लामवादीहरूले युद्धको वातावरणलाई रुपान्तरण गर्न र शान्ति स्थापनाका लागि वार्ता आवश्यक रहेको बताएका थिए । काबुलबाट प्रतिनिधिमण्डलमा सम्मिलित हुन तालिबान आन्दोलनको सबैभन्दा कडा गुटका नेता अनास हक्कानी ओस्लो पुगेका छन् ।

हक्कानी नेटवर्क अफगानिस्तानका केही विनाशकारी आक्रमणहरूका लागि जिम्मेवार छ । कुनै औपचारिक सरकारी पदाधिकारी नभएका उनी सन् २०१९ मा कैदी साटासाटमा मुक्त हुनुभन्दा पहिले राजधानी काबुल बाहिर रहेको संयुक्त राज्य अमेरिकाको बाग्राम हिरासत केन्द्रमा केही वर्ष जेल परेका थिए ।


 

ताजा खबर