अफगानिस्तानमा बसमा बम हमला गरी सातको हत्या

२०७८ माघ ९ आइतबार १४:०१:०० मा प्रकाशित

अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । विस्फोटमा परी ज्यान जानेमा चार जना महिला रहेका छन् । यहाँका प्रान्तीय प्रहरी अधिकारीले घटनामा परी सात जनाको मृत्यु भएको बताएका छन् ।

उनका अनुसार घटनामा अरु नौ जना घाइते पनि भएका छन् । घाइतेहरु जलेको अवस्थामा छन् र उनीहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । बस गुडिरहेको या रोकीराखेको अवस्थामा थियो भन्ने बारेमा भने केही खुलाइएको छैन । तर शनिबार साँझ एक मिनीबसमा बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको जिम्मा कसैले पनि लिएको छैन । अफगानिस्तानको हेरात इरानसँग सीमा जोडिएको सहर हो । तालिबानी विद्रोहका समयमा पनि निकै हिंसाग्रस्त यो सहर अफगानिस्तानको तेस्रो ठूलो सहर हो ।

अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ हत्या, हिंसा र विस्फोटका घटनामा भने कमी आएको छ । तर पनि यहाँ मानवीय संकटको अवस्था सिर्जना भएका विवरणहरु भने प्रतिदिन आइरहेका बताइएको छ ।

ताजा खबर