युक्रेनबारे विवादास्पद टिप्पणीपछि जर्मन नौसेना प्रमुखद्वारा राजीनामा

२०७८ माघ ९ आइतबार १०:३५:०० मा प्रकाशित

युक्रेनबारे विवादास्पद टिप्पणी गरेसँगै जर्मनीका नौसेना प्रमुखले राजीनामा दिएका छन् । के–खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए ।

उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको पनि बताए । युक्रेनलाई अमेरिका र बेलायतसहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्। तर जर्मनीले भने हतियार उपलब्ध गराउन युक्रेनले गरेको आग्रह अस्वीकार गरेको छ । पुटिनले पश्चिमा राष्ट्रहरूसमक्ष केही मागहरू अघि सारेका छन् जसमा रुसी सुरक्षा चासोहरू समेटिएको उनको भनाइ छ ।

युक्रेनलाई सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोको सदस्य बन्नबाट रोकिनुपर्ने रुसले माग गरेको छ । रुसमाथि प्रत्यक्ष सुरक्षा खतरा हुने भन्दै नेटोले पूर्वी युरोपमा सैन्य अभ्यास गर्न अनि हतियार पठाउन बन्द गर्नुपर्ने पुटिन चाहन्छन् । यसैबीच युक्रेन सरकारको नेतृत्वमा मस्को समर्थक व्यक्ति ल्याउनका लागि पुटिनले षड्यन्त्र गरेको बेलायतले आरोप लगाएको छ ।

शुक्रवार भारतमा एउटा थिङ्क ट्याङ्कले आयोजना गरेको छलफलमा आफ्नो विचार राख्ने क्रममा उनले त्यस्तो टिप्पणी गरेका थिए । उक्त भिडियो पछि सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो । भिडियोमा उनले पश्चिमा राष्ट्रहरूले पुटिनलाई समान रूपमा व्यवहार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

युक्रेनको विदेश मन्त्रालयले श्योनबाखको टिप्पणीलाई स्पष्ट रूपमा अस्वीकार्य रूपमा व्याख्या गरेको छ । शनिबार श्योनबाखले थप क्षति हुन नदिन आफ्नो पदबाट तत्काल लागु हुने गरी राजीनामा गरेको बताएका छन् ।

युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन् । अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर हातहतियार सहायता युक्रेन पुगेको छ ।

बेलायतले पनि केही दिन अघि युक्रेनमा प्रतिरक्षाका लागि प्रयोग गर्न सकिने हतियार अनि तालिमका लागि थप सैन्य बल पठाउन लागेको घोषणा गरेको थियो । कैयौँ अन्य नेटोका सदस्य राष्ट्रहरूले सैन्य सामग्री पठाइरहेका वा सेना खटाएका छन् ।

ताजा खबर