टोङ्गा ज्वालामुखी विस्फोटपछि धुवाँको मुस्लो अन्तरिक्षको आधा दूरीमा पुगेको खुलासा

२०७८ माघ ८ शनिबार १२:११:०० मा प्रकाशित

गत शनिवार टोङ्गामा भएको ज्वालामुखी विस्फोटन कति शक्तिशाली थियो भन्ने कुराको एउटा सूचक धुवाँको मुस्लो पुगेको उचाइ हो । मौसमबारे जानकारी प्राप्त गर्न राखिएका भूउपग्रहबाट प्राप्त तथ्याङ्क अध्ययन गरिरहेका वेलायतका वैज्ञानिकहरूले धुवाँको मुस्लो पृथ्वीको सतहभन्दा झन्डै ५५ किलोमिटर माथिसम्म पुगेको हिसाब निकालेका छन् ।

बेलायतको नेशनल सेन्टर फर अर्थ अब्जरबेसनमा आबद्ध डा. साइमन प्राउड ज्वालामुखीबाट उत्पन्न भएको धुवाँको मुस्लो त्यति माथि पुगेको यसअघि नसुनिएको बताउँछन् । बिसौँ शताब्दी अन्त्यतिर सबैभन्दा शक्तिशाली विस्फोटन सन् १९९१ मा माउन्ट पीनाटुबाउमा भएको थियो। त्यस बेला धुवाँको मुस्लो झन्डै ४० किलोमिटर माथि पुगेको अनुमान गरिएको थियो ।

तर फिलिपिन्समा भएको उक्त विस्फोटनमा उत्पन्न धुवाँको मुस्लोबारे अहिलेको जस्तो सटिक विवरण उपलब्ध थिएन । टोङ्गाको ज्वालामुखी विस्फोटनका कारण उत्पन्न धुवाँको मुस्लोको अवस्था जान्नका लागि जापानी, अमेरिकी र कोरियाली मौसमसम्बन्धी भूउपग्रहहरूका तथ्याङ्क प्रयोग गरिएको थियो ।

उनका अनुसार ५५ किलोमिटर उचाइमा मुस्लोको सानो अंश मात्रै पुगेको देखिन्छ जुन सम्भवतः खरानी नभएर पानीको बाफ मात्रै हुनसक्छ । धुवाँको मुस्लोको अधिकांश भाग ३५ किलोमिटर माथि पुगेको देखिएको छ । पृथ्वीबाट १०० किलोमिटरपछि अन्तरिक्ष सुरु हुने मानिन्छ ।

अमेरिकी अन्तरिक्ष निकायका वैज्ञानिकहरूले विस्फोटनको शक्ति १० मेगाटन टीएनटी बराबर रहेको हिसाब गरेका छन् जसले टोङ्गाको विस्फोटन दोस्रो विश्व युद्धमा जापानको हिरोशिमामा खसालिएको आणविक बमभन्दा ५०० गुणा शक्तिशाली रहेको दर्साउँछ ।

ताजा खबर