भारतमा एकैदिन साढे तीन लाखलाई कोरोना संक्रमण

२०७८ माघ ७ शुक्रबार १४:१४:०० मा प्रकाशित

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७.९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन विहीवार सार्वजनिक गरिएको तथ्याङ्कको तुलनामा शुक्रबार सार्वजनिक गरिएको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या २९ हजार ७२२ बढी रहेको छ । अघिल्लो दिन भारतमा तीन लाख १७ हजार ५३२ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो ।

सङ्क्रमितहरूको सङ्ख्यामा साप्ताहिक रुपमा १६.५६ प्रतिशतले वृद्धि भएको पाइएको पनि अधिकारीहरूले जनाएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि दिन प्रति दिन बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा अहिले २० लाख १८ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने दुई लाख ५१ हजार ७७७ रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले पनि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको हो ।

ताजा खबर