अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

२०७८ माघ ६ बिहीबार १८:२१:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नेपालबाट मोबाइल एप्लिकेशनमार्फत अमेरिकामा जुवा खेलाएको अभियोगमा काठमाडौंको कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।

उनीहरुले जुवा खेलाएवापत कमिसन पाउने गरेको प्रहरीले बताएको छ । जुवा खेलाउने व्यक्तिहरुलाई सोधपुछ गर्दा उनीहरुले करिब १० महिना अघिदेखि महिनाको करिब एक लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर