पुरातात्विक महत्वका सामग्रीसहित केशरमहलबाट दुई जना पक्राउ

२०७८ माघ ६ बिहीबार १४:४१:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले पुरातात्विक महत्वका सामग्रीहरू चोरी कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं–२६ केशरमहलबाट दाङ तुल्सीपुर–३ घरभई बसुन्धरा बस्ने सुमन शर्मा र रुकुम पश्चिम मुसिकोट–११ घर भई केशरमहल क्षेत्रमा बस्ने वीरबहादुर सुनारलाई पक्राउ गरेको हो ।

प्रहरीले बुधवार केशरमहलमा बोरामा राखी फालेको अवस्थामा ती सामग्री बरामद गरेको हो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भवनको प्रबलिकरणको कार्य भइरहेको केशरमहल भित्र रहेको केशर पुस्तकालयको ठूलो कोठाभित्र संकलन गरी राखिएको पुरातात्विक महत्वको अस्थाई रूपमा सुचिकरण गरिएको बाघको टाउको, केशर शमशेरको पोसाक, लुगा सेट मध्येको दुई थान तरवार चोरी भएको थियो ।

रातो कलेजी रङको दाप भएको लम्बाई ९३ सेमी र चौडाई ३ सेमी भएको सेतो कालो रङको धातुको बिड भएको तरवार, ९८ सेमी लम्बाई र ४ सेमी चौडाई भएको सेतो हड्डीको जस्तो बिड भएका तरबार र टुप्पोदेखी गर्धन

सम्मको लम्बाई ३८सेमी भएको गोलाई ६७ सेमी भएको ३ किलो तौल भएको बाघको टाउको फेला परेको थियो । बरामद सामाग्रीको अनुसन्धान गर्दा चोरी कार्यमा गणेश श्रीपाली भन्ने गणेश विश्वकर्मा, दीपेन्द्र भन्ने देवेन्द्र केसी, सुमन शर्मा र वीरबहादुर सुनारको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । सुमन शर्मा ८/१० दिन अघि केशरमहलबाट सो सामग्री स्कुटरमा हालेर लैजाँदै गर्दा पक्राउ परेका थिए ।

उनलाई गणेश श्रीपालीले आफ्नो सामान र स्कुटर केशरमहलमा राखेको भन्दै लिन पठाएको प्रहरीसँगको बयानका क्रममा बताएका छन्। स्कुटरमा राखेको सामानहरू लिएर निस्किँदै गर्दा केशरमहलका गार्डले उनलाई रोकेका थिए। त्यसपछि उनी त्यहाँबाट फरार भएका थिए।

ताजा खबर